काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मकवानपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बर्तौलाले सानदार जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । चुनाव प्रचार अभियानका क्रममा मकवानपुर पुगेका नेता बास्कोटाले थाहानगरतर्फ जाने क्रममा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत यात्रा अनुभव साझा गर्दै उनले राजनीति र प्रकृतिबीचको दृष्टिभ्रमलाई रोचक ढंगले प्रस्तुत गरेका छन् । अग्लो स्थानबाट हेर्दा टाढाको हिमाल आफूभन्दा होचो र धुम्मैलो देखिने, अझ तलको थानकोट चन्द्रमाको क्रेटरजस्तै देखिने अनुभूति भएको उनले उल्लेख गरेका छन् ।
यस्तै, टाढाबाट मानिसहरूलाई हेर्दा कमिलाजस्तै देखिने अनुभूति भएको भन्दै नेता बास्कोटाले राजनीति र प्रकृतिको मिश्रित दृष्टिभ्रमको स्वाद नै फरक हुने बताए ।
यस्तो अनुभूतिको बीचमा पनि उनले मकवानपुर क्षेत्र नं २ मा एमाले उम्मेदवार महेश बर्तौलाको जित सुनिश्चित रहेको दाबी गरे । “तर महेश सानदार जित्नुहुन्छ,” भन्दै उनले आफ्नो विश्वास स्पष्ट रूपमा व्यक्त गरेका छन् ।