काठमाडाैं । एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज बिहान विधिपूर्वक समापन गरिएको छ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत तथा सोही अवधिमा सञ्चालन हुँदै आएको माधवनारायण मेला माघ शुक्ल पूर्णिमाका दिन भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि सम्पन्न भएको हो ।
व्रतालुहरूले बिहान सबेरै त्रिवेणीधाममा स्नान गरी माधवनारायणको विधिपूर्वक पूजा अर्चना गर्दै एक महिनाको व्रत समाप्त गरेका छन् । परम्पराअनुसार माधवनारायण व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्ने, प्रत्येक दिन बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल र पूजा सामग्री प्रयोग गरेर पूजा गर्ने चलन छ ।
धार्मिक मान्यताअनुसार शङ्ख जल ग्रहण गर्दै मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई नछुने तथा जुत्ता नलगाउने परम्परा रहेको छ । हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने यस व्रत तथा मेलामा देशका विभिन्न स्थानबाट श्रद्धालुहरूको सहभागिता रहने गर्दछ ।