नेपाल फेरि एकपटक चुनावको चपेटामा छ। सडक, चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म एउटै प्रश्न गुञ्जिएको छ– अब देश कसले हाँक्ने ? यो चुनाव केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र होइन, यो त पुरानो राजनीतिक संस्कार र नयाँ राजनीतिक चेतनाबीचको निर्णायक भिडन्त बनेको छ।
जेएनजे (जनन्याय जोड आन्दोलन) को आन्दोलनपछि बिघटित प्रतिनिधि सभाको पृष्ठभूमिमा सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचनले देशलाई पूरै चुनावमय बनाइदिएको छ। लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार, गुटबन्दी र सत्ता–स्वार्थबाट आजित नेपाली जनताका लागि यो चुनाव आशा र शंकाको संगम बनेको छ।
आन्दोलनले जन्माएको निर्वाचन! जेएनजे आन्दोलन कुनै एक दल वा व्यक्तिको विरुद्ध मात्र थिएन, यो राज्य सञ्चालनको शैली, न्यायको पहुँच र जनप्रतिनिधित्वप्रति उठेको सामूहिक असन्तोष थियो। आन्दोलनले प्रतिनिधि सभा विघटनको अवस्था ल्यायो र त्यसपछि अन्तरिम रूपमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनेर देशलाई निर्वाचनतर्फ डोर्याइयो।
यस अर्थमा यो चुनाव ‘सामान्य’ छैन, यो आन्दोलनको गर्भबाट जन्मिएको निर्वाचन हो। पुराना दल :नेपाली कांग्रेस, एमाले जस्ता पुराना दलहरूका लागि यो चुनाव ‘अस्तित्वको परीक्षा’ जस्तै बनेको छ। नेपाली कांग्रेसले लामो समयदेखि नेतृत्वमा रहेका पुराना अनुहारहरूबाट विस्तारै नयाँ पुस्तातर्फ सिफ्ट गरेको देखिन्छ। यसपटक कांग्रेसले खुलेरै प्रधानमन्त्रीको उम्मेदवार बोकेर चुनावमा होमिएको छ। यो कदम कांग्रेसका लागि साहसी पनि छ र जोखिमपूर्ण पनि।
गगन थापाजस्ता युवा नेताहरू पार्टीभित्र स्थापित हुँदै गर्दा कांग्रेसभित्रैको आन्तरिक द्वन्द्व पनि सतहमा आएको छ। पूर्व कांग्रेसको वागी तथा विद्रोही नेता अमरेश सिंहसँग गगनको प्रत्यक्ष भिडन्त केवल दुई व्यक्तिबीचको होइन, यो पार्टीभित्रको विचार र शैलीको टकराव हो।
उता एमालेले भने कुनै प्रयोग नगरी फेरि पनि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। ओलीको राजनीतिक अनुभव, कट्टर समर्थक र स्पष्ट राष्ट्रवादी भाषण शैली उनका बलिया पक्ष हुन्। तर त्यत्तिकै बलियो रूपमा प्रश्न पनि उठेको छ– के ओली युगले देशलाई नयाँ दिशामा लैजान सक्छ ? कि यो फेरि पुरानै चक्रमा घुम्ने संकेत हो ?नयाँ दल र नयाँ आकांक्षा ! यो चुनावको सबैभन्दा रोचक पक्ष भनेको नयाँ दल र स्वतन्त्र पात्रहरूको आक्रामक उदय हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘वालेन’ लाई प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा अघि सारेपछि चुनावी बहसको केन्द्र नै फेरिएको छ।
बालेनको राजनीति परम्परागत भाषण, झण्डा र नाराभन्दा फरक छ। उनी कामको भाषामा बोल्छन्, सामाजिक सञ्जालबाट प्रत्यक्ष जनतासँग संवाद गर्छन् र स्थापित शक्तिसँग ठोक्किन डराउँदैनन्। सबैभन्दा प्रतीकात्मक घटना भनेको बालेन केपी ओलीकै गृह जिल्लामा चुनाव लड्न पुग्नु हो। यो कदम केवल चुनावी रणनीति होइन, यो पुरानो शक्तिलाई दिइएको खुला चुनौती हो– “अब राजनीति सुरक्षित क्षेत्रको खेल होइन।”
यता धरानका मेयर हर्क साम्पाङ राईले पनि आफू प्रधानमन्त्रीको दावेदार भएको घोषणा गरेका छन्। हर्क साम्पाङको राजनीति जनश्रम, श्रमदान र प्रत्यक्ष सहभागितामा आधारित छ। उनी व्यवस्था भन्दा प्रणालीको आलोचना गर्छन्।
उनको उदयले ग्रामीण र सहरबाहिरका जनताको असन्तोषलाई प्रतिनिधित्व गर्छ। यसैबीच, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ पनि राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा छन्। “उज्यालो नेपाल” नारासहित उनले देशभर आशाको दीप बाल्ने दाबी गरेका छन्। कुलमान राजनीतिमा औपचारिक रूपमा नआए पनि जनताले उनलाई कार्यसम्पादनको प्रतीक का रूपमा हेर्छन्।
यो चुनावमा उनको नाम आउनु नै जनताले भाषणभन्दा काम खोजिरहेको संकेत हो।भूगोलमा फैलिएको राजनीतिक सन्देश
यो निर्वाचन केवल सहर केन्द्रित छैन।
रुकुम पूर्वबाट ‘एकताको सन्देश’ बोकेर उम्मेदवारी घोषणा गर्नेहरू छन्। पहाड, तराई, मधेस– सबै ठाउँमा एउटै स्वर सुनिन्छ– राजनीति बद्लिनुपर्छ। पहिले चुनाव जात, क्षेत्र र दलको नाममा हुन्थ्यो। अहिले रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र अवसरको सवालमा बहस भइरहेको छ।
यो परिवर्तन सानो होइन, जनता के चाहन्छन् ?
यस चुनावको निर्णायक शक्ति कुनै नेता वा दल होइन, जनताको मनोदशा हो।आजको मतदाता प्रश्न गर्छ–किन हरेक परिवर्तनपछि पनि म विदेश जान बाध्य भएँ ? किन मेरो छोराछोरीको भविष्य अझै अनिश्चित छ ? किन राजनीति सधैं केही व्यक्तिको वरिपरि घुम्छ ? पुराना दल अनुभवको कुरा गर्छन्, नयाँ शक्तिहरू विश्वासको।पुरानाले स्थिरताको दाबी गर्छन्, नयाँले परिवर्तनको। यो चुनावमा मतपत्र केवल मत होइन, आक्रोश, आशा र चेतावनी हो। निर्णायक मोडमा नेपाल आज इतिहासको एउटा संवेदनशील मोडमा उभिएको छ।
यो चुनाव जित–हारको मात्र प्रश्न होइन, यो दिशा को प्रश्न हो। यदि पुराना दलहरूले जनताको आवाज नसुने भने, नयाँ शक्तिहरूले अवसर पाउनेछन्। यदि नयाँ शक्तिहरूले अपेक्षा पूरा गर्न सकेनन् भने, जनताको निराशा अझ गहिरो हुनेछ। तर एउटा कुरा निश्चित छ–यो चुनावपछि नेपाली राजनीति पहिले जस्तो रहने छैन। अब जनता मौन छैनन्।अब राजनीति प्रश्नको घेरामा छ।
र यही प्रश्नहरूबाट सम्भवतः एउटा नयाँ नेपाल जन्मिँदैछ।
अरुण राज सुमार्गी
(सामाजिक विश्लेषक तथा समावेशी विकास अभियन्ता)