शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रहरी रासन स्केल वृद्धि गर्ने निर्णय, कर्मचारी मनोबल र कार्यसम्पादनमा सुधारको अपेक्षा

शुक्रबार, माघ १६ २०८२

काठमाडौँ । नेपाल सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको रासन स्केल र दैनिक राशन रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय आजदेखि लागू हुनेछ।

सरकारको यो कदम प्रहरी कर्मचारीहरूको आर्थिक सुरक्षा, कल्याण, आत्मसम्मान, कार्यक्षमता र कार्यप्रभावकारितामा सुधार ल्याउने अपेक्षामा गरिएको हो।

नेपाल प्रहरीमा दशकौँदेखिको अपर्याप्त र असमान राशन प्रणालीलाई समयसापेक्ष सुधार गर्ने माग लामो समयदेखि रहेको थियो। प्रहरी नेतृत्वले यस विषयलाई प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव र अर्थ मन्त्रालय समक्ष बलियो रूपमा उठाउँदै आएको थियो। अब लागू हुने नयाँ राशन स्केलले प्रहरीका दैनिक आहार र पोषण आवश्यकताको दृष्टिले पुराना दरभन्दा उल्लेख्य सुधार ल्याएको छ।

सामुदायिक सहभागिता र जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीले भोगेका भौतिक र मनोवैज्ञानिक चुनौतीहरूको पृष्ठभूमिमा, सरकारले गरेको यस निर्णयले प्रहरी मनोबलमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

प्रहरी प्रमुखले भनेका छन्, “रासन स्केलमा सुधारले केवल आर्थिक सुरक्षा र कल्याणमा मात्र नभई हाम्रा कर्मचारीहरूको आत्मसम्मानको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ। यो कदम हाम्रो कर्मचारीहरूको स्वास्थ्य, पोषण र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।”

साथै, यस निर्णयले नेपाल प्रहरीको अनुशासन, संस्थागत छवि र कर्मचारी आवद्धतामा (Retention Rate) सुधार ल्याउने अपेक्षा गरिएको छ।

नेपाल प्रहरीका सबै स्तरका कर्मचारीहरूले सरकारको यस निर्णयलाई अत्यन्त स्वागतयोग्य ठहर गर्दै उत्साहका साथ कार्यसम्पादनमा अझ सक्रिय रहने विश्वास व्यक्त गरेका छन्।