शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निर्वाचन शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

शुक्रबार, माघ १६ २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा सतर्कता अपनाउन वरिष्ठ अधिकृतहरूलाई निर्देशन दिएका छन्।

विहीबार सशस्त्र प्रहरी मुख्यालय, हलचोकमा आयोजित निर्वाचन लक्षित वरिष्ठ अधिकृत सम्मेलनमा उनले निर्वाचनमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई मर्यादित, अनुशासित र सभ्य व्यवहारसहित परिचालित हुन निर्देशन दिए। साथै, ‘फिल्ड’मा खटिएका कमाण्डरहरू निर्वाचन लक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रूपमा निर्णय गर्न सक्ने उनले स्पष्ट पारे ।

महानिरीक्षक अर्यालले निर्वाचनका क्रममा सशस्त्र प्रहरी कर्मचारीले कुनै पनि राजनीतिक दलको पक्ष नलिने, उम्मेदवारसँग अनावश्यक सम्पर्क नराख्ने र पूर्ण तटस्थता कायम गर्ने निर्देशन दिएका छन् ।

सम्मेलनमा निर्वाचनका बेला देखा पर्न सक्ने सुरक्षा चुनौती, विद्यमान परिस्थिति तथा कुनै पनि प्रकारको मानवीय क्षति हुन नदिन अन्य सुरक्षा निकाय र सरोकारवाला संस्थासँग निरन्तर समन्वय र सहकार्य गर्दै अघि बढ्ने उपायबारे छलफल गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उक्त सम्मेलनमा सशस्त्र प्रहरी बलका सम्पूर्ण बाहिनीपति भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।