काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र लिँदा प्रतिशतको आधारमा घुस लिने ३ इन्जिनियरविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीका इन्जिनियर दिपेन्द्रकुमार देव, शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका सव(इन्जिनियर धनवीर भगत र शिक्षा विकास तथा समन्वय इकाई भोजपुरका तत्कालीन सव(इन्जिनियर निरजकुमार चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।
घुस लिएका तीनैजना इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुले महाभारत, काभ्रेको स्कुल भवन निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएका थिए ।
उनीहरुले सेवाग्राहीसँग घुस लिएर राष्ट्रिय वाणिज्य बैंक बनेपामा जम्मा गर्न लगाएका थिए । घुस रकम बैंकमा जम्मा गरेको भौचर लिइसकेको अवस्थामा उनीहरु अख्तियारको फन्दामा परेका हुन् ।