काठमाडौं । खाद्य संस्थान र नेसनल टे«ेडिङका पसलहरु अब सुपरमार्केट जस्तै स्वरुपका हुनेछन् । सरकारले लिएको नीतिअनुसार चाँडै नै यी दुई सरकारी संस्थाहरु मर्ज हुँदैछन् । मर्ज भएर बन्ने संस्थाको नाम भने लामो र भद्दा ‘ खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ राखिने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी दर्ताको प्रकृयालाई अघि बढाएको छ ।
खाद्य संस्थानमा सरकारले ९९ करोड शेयर लगानी गरेको छ भने नेसनल ट्रेडिङमा करिब १७ करोड शेयर लगानी गरेको छ। यसरी कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ९८ लाख ३० हजार हुनेछ । यस्तै अधिकृत पूँजी ३० अर्ब र जारी पूँजी २० अर्ब रहेको छ ।
कम्पनी गठनका लागि सरकारले सचिव स्तरीय बोर्ड गठन गरेको थियो । बोर्डमा वाणिज्य मन्त्रालय सहित अर्थमन्त्रालय, प्रधानमन्त्री कार्यालयका सचिवहरु रहेका छन् । बोर्डले कम्पनी सञ्चालनको मोडालिटी तयार गरिसकेको छ । कम्पनी कुन मोडेलमा जान्छ भन्ने कुरा टुङगो लागिसकेको छ । दुई संस्थान गाभिएपछि स्वत दुबै संस्थानको सम्पति मिसिनेछ। नेसनल ट्रेडिङका सबै कर्मचारीलाई उपदानसहित विदा गरिसकेको छ ।