गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा परेर ज्यान गुमाउनेहरुको संख्या १३ पगेको छ । पहिरोका कारण ६ सय परिवार विस्थापित भएका छन्
मृतकहरुको शव खोज्ने क्रममा लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको बुधबार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
यसअघि लिम्घामा मंगलबार नै निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी त्रामू र उनका छोरा दर्शन त्रामू तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो।
पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका करिष्मा त्रामू र धनी त्रामू दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
उनीहरुको टाउकोमा चोट लागेकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले बताइन् ।
पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन्। उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण हेलिकोप्टरमार्फत राहत सामग्री र्पुयाइएको छ । बुधबार साँझ हेलिकप्टरबाट २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलोलुम्पेकमा र्पुयाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । विपत व्यावस्थापन महाशाखा मार्फत हेलिकोप्टरले पोखराबाट ल्याएको राहत प्रभावित क्षेत्रमा र्पुयाइएको हो ।