माघ २३ लाई लक्षित गर्दै देशव्यापी यात्रा सुरु
काठमाडौं । यही माघ २३ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘कुमारी’को निर्माण टिमले बाँकेको नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न गरेको छ । चलचित्रको प्रचार–प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित यस कार्यक्रममा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । होटेल स्टार लाइटको प्राङ्गणमा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्डका सदस्यहरूले दर्शकलाई साङ्गीतिक माहौलमा झुमाएका थिए ।
कार्यक्रममा गायक केहर सिं लिम्बुले चलचित्र ‘कुमारी’का चर्चित गीतहरू ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ’तिमी बिना’ सँगै आफ्ना लोकप्रिय सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरे । विशेष गरी चलचित्रको बहुचर्चित गीत ‘डोको बुन्ने’ मा कलाकार द्वय अबिशेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकको ठुलो साथ पाएका थिए । सोही अवसरमा निर्देशक दिनेश राउतले आफूले सधैँ दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर चलचित्र निर्देशन गर्ने गरेको बताउँदै ‘कुमारी’ एक उत्कृष्ट लभ स्टोरी चलचित्र बनाउने कोसिस गरेको बताए ।
नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा अब देशका अन्य सहरहरूमा पनि पुग्नेछ । निर्माण पक्षका अनुसार यो टोली माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुत हुनेछ । आगामी माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र पिक्चर फ्रेमको सहकार्य रहेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माताको रूपमा केदार भुसाल रहेका छन् । विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन, रहेको यस चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन र साहस शाक्यको ब्याकग्राउन्ड स्कोर रहेको छ । चलचित्रका सबै गीतमा केहरको स्वर रहेको छ भने सङ्गीत केहर एन्ड द लुङाका सदस्यहरूको र गीतकार सागर लामिछाने मगर र सुमन तामाङ रहेका छन् ।