काठमाडौं । वैदेशिक रोजगारी अव्यवस्थित भएका कारण मुलुकले केही वर्षमै चर्को समस्या भोग्नु पर्ने अवस्था रहेको श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिएका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले विदेश पुगेर युवाले गरेको मेहनतलाई व्यवस्थित नगरिए गम्भीर सामाजिक समस्या पैदा हुने बताएका हुन् ।
जवानीमा विदेशमा कमाएको पैसा स्वदेशमा वचत हुन सकेको छैन । त्यहाँ कमाएको ठुलो हिस्सालाई नेपालमा लगानी र पुनर्लगानी अनि रोजगारी सिर्जनाको बाटोमा हिँड्ने गरी वैदेशिक रोजगारी व्यवस्थित गर्नुपर्छ,’ मन्त्री विष्टले भने, ’अन्यथा जवानी हुँदा जोखिमपूर्ण काम गर्छन्। मेहनत गर्छन् । केही कमाई गर्छन् र स्वदेश फर्कन्छन्। जब बुढेसकाल लाग्छ। एउटा अत्यन्तै कहालीलाग्दो पीडादायक जीवन वैदेशिक रोजगारीबाट फर्किएकाहरुले बिताउँछन ।’
वैदेशिक रोजगारीलाई पैसामा हिसाब गरेको र सामाजिक मुल्यमान्यताबारे हिसाबै नगरेको उनको भनाई थियो ।
‘हामीले केवल पैसाको हिसाब गरिरहेका छौँ । सामाजिक मूल्यको हिसाब गरिरहेका छौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवा र तिनका परिवारले कुन प्रकारको सामाजिक मूल्य चुकाइरहेको छ। त्यसको हिसाब गरिरहेका छैनौँ,’ मन्त्री विष्टले भने, ‘ सायद अबको १०–१५ वर्षपछि नेपालले थेग्न नसक्ने गरी सामाजिक समस्या पैदा हुने छ ।’