काठमाडौं । यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ । विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ । औसत भन्दा खुद्राको भाउ झनै बढेको छ ।
कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो ।
बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमास, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरो लगायतका थुप्रै तरकारी हरुको मूल्यमा साविकको भन्दा तीन गुणा सम्म बृद्धि भएको छ ।
प्राय बर्षातको समयमा तरकारीको भाउ ह्वात्तै बढ्ने गरेको छ । सामान्य भन्दा धेरै पानी पर्नाले तरकारी ढुवानी गर्न कठिनाई भएका कारण भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
अहिले नेपालमा आयात हुने हरिया तरकारीहरु आन्तरिक स्रोतबाटै आउने गरेको छ। त्यसमा पनि मनसुनले आएको पहिरो र बाढीका कारण बाटो भत्कँदा र जिर्ण अवस्था हुँदा तरकारी आयात गर्न नसकेको उनी बताउँछन।
गएको १०दिनको भिन्नतालाई हेर्दा असार २६ गते गोलभेडाको मूल्य प्रतिकेजी ६८ रुपैयाँ थियो भने ३४ रुपैयाँले बढेर हाल श्रावण पहिलो हप्ता औसत मूल्य ९२ रुपैयाँ छ ।
तर बाहिर बजारमा ग्राहकहरुले लगभग प्रतिकेजी १४० देखि १५० रुपैयाँसम्म मूल्य तिर्ने गरेका छन। यस्तै भिण्डीको मूल्य ५८ रुपैयाँ थियो भने अहिले ११५ रुपैयाँ छ । यसमा विगतको भन्दा झण्डै ६० रुपैयाँको अन्तरले मूल्य बढेको छ ।