बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेलमा रहेका भ्रष्ट पूर्वप्रधानमन्त्रीलाई इमरानले दिए दनक

सोमबार, साउन ६ २०७६

काठमाडौं  । आफ्ना एकपछि अर्को एक्सन कामले विश्वभर चर्चा कमाइरहेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज सरिफका लागि एअर कन्डिसनवाला कोठा र घरको खाना उपलब्ध गराउन नसकिने बताएका छन् ।    
  
तीन दिने  अमेरिका भ्रमणमा गएका इमरानले आइतबार अमेरिकामा रहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै नवाजको आलोचना गरेका हुन् ।

 सन् २०१३ देखि २०१७ सम्म पाकिस्तानका प्रधानमन्त्री बनेका सरिफ अलअजिज स्टिल मिल्स भ्रष्टाचार मुद्दा दोषी देखिएका छन् ।   सात वर्ष जेल सजाय पाएका उनी अहिले लाहोरको जेलमा छन् ।

जेलभित्र सरिफले एयर कन्डिसनसहितको कोठामा बसेर टिभी हेर्दै घरबाट ल्याएको खाना खाइरहेको इमरानको दाबी छ ।

‘पाकिस्तानमा आधाभन्दा बढी मानिससँग एयर कन्डिसन र टिभी छैन। त्यस्तो देशमा अपराधीलाई यस्तो व्यवहार हुनै सक्दैन।  म उनलाई दिएको त्यो सुविधा हटाउन लगाउँछ,’ इमरानले भने ।

उनले यसअघि सरकार चलाएका नेताहरूले विदेश पठाएको सम्पत्ति जफत गर्ने प्रक्रिया पनि आफ्नो सरकारले सुरू गरिसकेको बताए ।

सम्बोधनका क्रममा इमरानले आर्थिक संकटसँग जुझिरहेको पाकिस्तानी अर्थतन्त्रलाई उकास्न आफूले गरेका पहल पनि उल्लेख गरेका थिए ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरानले  भ्रमणका लागि कमर्सियल फ्लाइट प्रयोग गरेका छन् ।

उनी कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका गएका हुन्। दोहामा उनलाई  कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल्बाकरले स्वागत गरेका थिए ।

आर्थिक संकटसँग जुधिरहेको देशलाई भार कम गर्न भन्दै प्रधानमन्त्री खान चार्टर्ड विमानको साटो कमर्सियल फ्लाइटमा अमेरिका गएका हुन् ।