काठमाडौं । नयाँ आर्थिक बर्ष सुरु भएसँगै आजबाट आयकरको सीमा परिवर्तन भएको छ। जागिरेका लागि आयमा लाग्ने करको सीमा वृद्धि भएको छ ।
हिजोसम्म एकललाई साढे ३ लाखमाथिको आयमा कर लाग्थ्यो। दम्पतिलाई चार लाख माथिको आयमा कर लाग्थ्यो। आजबाट एकललाई चार लाख र दम्पतिलाई साढे चार लाख रुपैयाँभन्दा माथिको आयमा मात्र कर लाग्छ।
सरकारले सामाजिक सुरक्षा कोषलाई आजबाट स्वीकृत अवकाश कोषको मान्यता दिएको छ। यसले गर्दा सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमले पनि प्रोभिडेन्ट फण्ड र नागरिक लगानी कोष बराबरकै मान्यता पाएको छ। यो हुँदा निश्चित आयमा कर लाग्दैन।
शेयरका लगानीकर्ताको पूँजीगत लाभकर पनि घटेको छ। साढे सात प्रतिशत लाग्दै आएको पूँजीगत लाभ कर आजबाट पाँच प्रतिशतमा झरेको छ ।
यसैगरी जग्गा बिक्रीमा पनि नयाँ तरिकाले कर लाग्ने छ। निकायले बेचेको जग्गाको हकमा नाफामा १० प्रतिशत कर लाग्थ्यो। यसले गर्दा खर्च अस्वभाविक बढाएर नाफा कम देखाउने चलन थियो। निकायहरुले पनि चाहिँदोभन्दा बढि कर लगाएको भन्दै आपत्ति जनाइरहेका थिए। आजबाट बिक्री मूल्यमा नै डेढ प्रतिशत कर लाग्छ। यसले एक खालको विवाद समाधान गरेको छ।
आजबाट पाकेको तलब वा ज्याला स्थायी लेखा नम्बर (प्यान) विना भूक्तानी गर्न पाइँदैन। यदि कसैले ज्याला वा तलब प्यान विना भूक्तानी गर्छ भने सरकारले त्यसलाई खर्चको रुपमा स्वीकार्दैन। यसो हुँदा सम्बन्धित कम्पति तथा रोजगारदाताको आय सम्झेर त्यसमा थप कर लाग्छ।