काठमाडौं असार, ३१–
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय—प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताएका छन् ।
समुदाय—प्रहरी साझेदारी अन्तर्गत प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित नेपाल प्रहरी र नेपाल स्काउटबीच अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सांगठनिक परिचय, विद्यमान चुनौतीहरू, संस्थागत सुधारका प्रयासहरू, समुदाय—प्रहरी साझेदारी, संस्थागत साझेदारीका सम्भाव्यताहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्दै नेपाल प्रहरीले विगतमा गरेका विभिन्न समुदाय लक्षित कार्यक्रमहरु भन्दा अलि फरक रुपमा समुदाय—प्रहरी साझेदारीको अवधारणा अनुरुप १२ वटा प्राथमिकताका बुँदाहरु तय गरी कार्यक्रम संचालन गरिएको बताए ।
नेपाल सरकारले सुम्पेको जिम्मेवारी तथा दायित्व राष्ट्रको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्नेतर्फ नेपाल प्रहरीले लगावका साथ कार्य गरिरहेको चर्चा गर्दे प्रहरी महानिरीक्षक खनालले विभिन्न मन्त्रालय, विभाग, समाजिक संघसंस्था लगायतसँग पनि सहकार्य गर्दे जानुपर्ने आवश्यकता अनुरुप ठूलो समुदायलाई समेटेर जानका लागि समुदाय(प्रहरी साझेदारी अवधारण शुरु गरिएको जानकारी दिए ।
राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा लगायत रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले यसका साथै वन, राजश्व, वनयजन्तुको तस्करी रोक्ने एवं विपद् उद्दार देखि समाजमा आइपर्ने विभिन्न किसिमका अश्लिल गैरसामाजिक क्रियाकलाप नियन्त्रणमा समाजसँग मिलेर जानुपर्ने बताए ।
सीमित साधन श्रोत तथा जनशक्तिको उपलब्धीमा प्रहरीले पूर्ण लगावका साथ सम्पादन गरेका कार्यप्रति समाजको दृष्टिकोणमा पनि सही बुझाई हुनुपर्ने धारणा व्यक्त गर्दे प्रहरी महानिरीक्षक खनालले भने, ‘नेपाल प्रहरी हामी सबैको प्रहरी हो, यसले के गरिराखेको छ, आफ्नो दायित्व निर्वाह गरिरहेको छ कि छैन र गर्दाखेरि कस्तो किसिमले गरिरहेको छ । नेपाल प्रहरीलाई समुदायले कस्तो खालको सहयोग गर्दा अझ बढी समाज सुरक्षित हुन्छ, हामी सबैको दैनिक क्रियाकलाप राम्रोसँग चल्छ र राष्ट्र समृद्धितर्फ अगाडि बढाउन सकिन्छ भन्ने विविध बिषय सो अवधारणामा समेटिएको छ ।
प्रहरीले सोही अवधारणा अन्तर्गत नेपाल स्काउट समिति गठन गरी विभिन्न बिषयमा साझेदारी गरी अगाडि बढ्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै उनले नेपाल प्रहरी र स्काउटको संयुक्त साझेदारीमा विगतको भन्दा अझ बढी क्रियाशील भएर कार्य सम्पादन गर्ने उद्देश्य रहेको बताए ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपाल स्काउटका प्रमुख आयुक्त लोक बहादुर भण्डारी लगायतका पदाधिकारीलाई मायाको चिनो समेत प्रदान गरेका थिए । अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले स्काउटका प्रतिनिधिहरुले राखेका जिज्ञासा निरुपण गर्दै नेपाल प्रहरीले पछिल्लो समयमा परिवर्तन गरी सकारात्मक बाटोमा जान खोजेको र यसैको सन्दर्भमा समुदाय(प्रहरी साझेदारी अवधारणा ल्याएको चर्चा गरे ।
अन्तरक्रिया कार्यक्रम मार्फत प्रहरीलाई हेर्ने दृष्टिकोण के(कस्तो रहेछ भन्ने जानकारी हासिल हुने र सोही अनुरुप आगामी दिनमा प्रहरीले आफ्नो कार्यमा सुधार गर्न मद्दत पुग्ने उनले बताए ।
सो अवसरमा नेपाल स्काउटका प्रमुख आयुक्त लोक बहादुर भण्डारीले अन्तरक्रिया कार्यक्रम मार्फत आगामी दिनमा संचालन हुने सचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन, सडक सुरक्षा लगायतमा नेपाल प्रहरी र नेपाल स्काउटको सामूहिक प्रयास रहने बताए । साथै नेपाल प्रहरीसँग समन्वय गरी स्वच्छ मनले असल र सुसंस्कृत नागरिक निर्माण गर्नेका लागि सबै स्काउटका पदाधिकारी एवम् प्रतिनिधिहरुले आ—आफ्नो भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, नेपाल स्काउटका पूर्व आयुक्त, पदाधिकारी तथा प्रतिनिधिहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।