नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।
प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लङ्घन गरेकाले जेएमसी वाटर इण्डष्ट्रिज, पशुपति ड्रिङ्किङवाटर र पञ्चकन्या ड्रिङ्किङवाटर उद्योगविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा खाद्य स्वच्छता तथा गुणस्तर अभियानअनुसार संयुक्त अनुगमन टोलीबाट निरीक्षणका क्रममा मापदण्ड उल्लङ्घन गर्ने अन्य १५ पानी उद्योगको उत्पादन रोक्का गरी मुद्दा दायर प्रक्रियामा रहेको छ । मापदण्ड पूरा गरी गुणस्तर सुधार गर्ने उद्योगको उत्पादन रोक्का फुकुवा गरी नियमित अनुगमन गरिने उल्लेख गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख श्रेष्ठले भने, ’पानी उद्योगले न्यूनतम मापदण्ड पनि पूरा नगरेको अनुगमनमा पाइएको छ, त्यस्ता उद्योगमाथि मुद्दा दायर गरिनेछ ।’
कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर अभियानअन्तर्गत आव २०७५/७६ मा दुग्धजन्य पदार्थको एक, प्रशोधित पिउने पानीको ११, तेल तथा घ्यूका ३२ नमुना परीक्षण गरेकामा पानीको १ र घ्यूको चार नमूना प्रतिकूल भेटिएको जनाएको छ ।