काठमाडौं । काठमाडौंको सुन पसल लुट्ने योजना बुनिँदै गर्दा प्रहरीले एक लुटेरा समूहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–४ का २९ वर्षीय प्रितम राई, सोही स्थानका ३७ वर्षीय रामकुमार राई र भारत दार्जिलिङ घर भएका ३६ वर्षीय सविन खवास छन् । उनीहरुलाइ काठमाडौंको मित्रनगरस्थित एक गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पेस्तोल लिएर सुन पसलेलाई आतंकित पार्दै लुट्ने योजना बनाएका ३ जनाको समूह नेपाल तारा गेष्ट हाउसमा बसेका थिए । उनीहरुका साथबाट प्रहरीले पेस्तोल, ५ राउन्ड गोली, २ वटा मोटरसाइकल (बा६७प २६६६ र बा९९प १३०३)समेत बरामद गर्यो ।
उनीहरु पक्राउ परेपछि ठूलो लुटपाटको योजना विफल भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।