बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा ३ नेपालीको पनि मृत्यु

आइतबार, असार २९ २०७६

असार २९, काठमाडौँ । कुवेतको महाबुल्ला २ स्थित आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी हुँदा ज्यान गुमाउने ३ नेपालीको पहिचान खुलेको छ । जसमा दुई घरेलु महिला र एक पुरुष कामदार रहेका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् । अप्सरा र गौरीको ठेगाना छैन । उनीहरु आफ्नो मालिकको घर छाडेर त्यस अपार्टमेन्टमा बस्दै आएका थिए ।

बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत थिए । दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले घाइते हुनेहरुको पहिचानको लागि काम भइरहेको बताए ।

आगलागीमा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुईजना गम्भीर घाइते भएका थिए । १२ जनालाई उद्धार गरिएको थियो । गत शनिबार राति १२ बजेर २७ मा आगलागी भएको थियो ।

प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ । हाबुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो । मृतक नेपालीको शव फर्वानिया अस्पतालमा राखिएको छ ।