जनकपुर । चार दिनदेखिको अविरल वर्षाले प्रदेश २ को लगभग ८० प्रतिशत भूभाग डुबानमा परेको छ ।
नेपाल प्रहरी प्रदेश २ का प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार लगातारको वर्षाले प्रदेश २ को ८० प्रतिशत भूभागमा पानी जमेको छ। वर्षाले सबभन्दा बढी रौतहट जिल्ला प्रभावित छ । त्यहाँका अधिकांश बस्ती डुबानमा छन् । चन्द्रनगर र गरुडाको प्रहरी चौकीबाहेक सुरक्षा निकायका सबै कार्यालय डुबानको मारमा छन् ।
पानी परिरहेकाले प्रदेश २ को ठूला खोला कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ । कमला सिँचाइ आयोजनाका प्रमुख मनोहर साहले दिएको जानकारी अनुसार रातिको ठूलो पानीले कमला खोलाको डेफ्थ बैंक ड्यामसमेत भत्काएको छ र कमलाको पानी तटबन्ध माथिबाट बग्न थालेको छ ।
९ जनाको उद्धार
यसैबीच धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदी क्षेत्रमा बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । कमला खोलामा आएको बाढीको कारण धनुषाको सहिदनगर नगरपालिकामा दुई दिनदेखि अलपत्र परेका ५ जनालाई सशस्त्र प्रहरीले डुंगाबाट उद्धार गरेको छ । उद्धार गरिएका ५ जना मध्ये ४ पुरुष र १ महिला छन् ।
सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी राजु अर्यालले बाढीमा फसेका र डुबानले अलपत्र परेकाहरुको उद्धारलाई प्राथमिकता दिइएको बताए। उनले भने, ‘उच्च जोखिम क्षेत्रमा प्रहरीको संख्या थपिएको छ ।’