काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल मंसिरदेखि अनिवार्य अवकाशमा जाने भएपछि नयाँ मुख्य सचिव नियुक्तिको बहस तीव्र बनेको छ। देश राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको संवेदनशील चरणमा रहेको समयमा प्रभावकारी, दूरदर्शी र समावेशी नेतृत्वको आवश्यकता झन् बढेको छ।
यिनै चुनौतीका बीच श्रम सचिव डा. कृष्णहरि पुष्करलाई मुख्य सचिवका लागि सबैभन्दा सक्षम र उपयुक्त विकल्पका रूपमा प्रशासनिक तथा राजनीतिक वृत्तमा व्यापक रूपमा चर्चा गर्न थालिएको छ।
उनलाई हाल परिवर्तित शासन प्रणाली, पारदर्शिता, सुशासन, आर्थिक नीतिमा सुधार र चुनावी प्रतिवद्धताहरूलाई सरकारको प्रमुख जिम्मेवारीका रूपमा उभ्याएको छ। युवा चेतनाले सरकारलाई जिम्मेवार र प्रभावकारी बन्न दवाब बढाइरहेको बेला त्यही भावनालाई प्रशासनिक नीतिमा रूपान्तरण गर्न सक्ने सक्षम मुख्य सचिवको आवश्यकता देखिएको छ। डा पुष्करलाई यस परिवेशमा उपयुक्त मान्नुको प्रमुख आधार नै युवामैत्री सोच, नीतिगत संवेदनशीलता र प्रशासनिक अनुभव हो।
प्रशासनिक र कूटनीतिक दुवै क्षेत्रमा दक्षता
दुईपटक अर्थ सचिव र एकपटक राजस्व सचिवको जिम्मेवारी सम्हालिसकेका पुष्करले बदलिँदो आर्थिक यथार्थ बुझ्ने र आवश्यक नीतिगत सुधारलाई अगाडि बढाउने क्षमता प्रमाणित गरेका छन्। अर्थतन्त्रमा पारंगत नेतृत्व अहिले सरकारका लागि अत्यावश्यक छ।
सीडीओका रूपमा स्थलगत अनुभवदेखि लिएर नयाँ दिल्लीस्थित नेपाली दूतावासमा इकोनमिक मिनिस्टरका रूपमा वैदेशिक आर्थिक तथा कूटनीतिक क्षेत्रको बुझाइ—यसले उनलाई बहुआयामिक प्रशासक बनाएको छ। यस्ता क्षमता मुख्य सचिव पदको आवश्यकतासँग मेल खान्छन्।
पीएचडी डिग्रीधारी पुष्कर सहसचिवसम्म खुला प्रतिस्पर्धामार्फत छनौट भएका अधिकारी हुन्। उनी क्षमताका आधारमा माथि उक्लिएको प्रशासनिक उदाहरणका रूपमा हेरिन्छन्, जुन वर्तमान समयको उत्कृष्ट नेतृत्व मापदण्डसँग सुसंगत छ।
मधेसी समुदायबाट आएका उनी समावेशी नेतृत्वका प्रतिनिधि मानिन्छन्। विविधता र प्रतिनिधित्वलाई प्राथमिकता दिने अहिलेको राजनीतिक संरचनासँग उनी स्वाभाविक रूपमा मेल खान्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको भूमिकासहितका जिम्मेवारीमा उनले विवादरहित कार्यसम्पादन देखाएका कारण उनको छवि थप मजबुत बनेको छ।
जेष्ठता, अनुभव र कामको शैली हेर्नु स्वाभाविक भए पनि देशलाई अहिले आवश्यक मुख्य सचिव त्यही हो—जो चुनौतीपूर्ण समय पार गर्न सक्षम, सेवा प्रवाहमा समर्पित, पारदर्शी, नीतिगत रूपान्तरणका लागि सक्रिय र भविष्यमुखी दृष्टिकोण राख्छ। मुख्य सचिव केवल प्रशासनिक प्रमुख मात्र होइन, सरकारले लिने प्रत्येक नीतिगत निर्णयमा मार्गदर्शन गर्ने मुलुकको सर्वोच्च प्रशासनिक नेतृत्व हो।
पुष्कर नियुक्त भए कस्तो प्रभाव पर्ला?
प्रशासनिक वृत्तका जानकारहरूका अनुसार, डा. पुष्कर मुख्य सचिव बनेमा तीन वर्षको कार्यकालमा प्रशासनिक सुधार, पारदर्शिता, आर्थिक स्थिरीकरण र समावेशी नेतृत्वको नयाँ ऊर्जा सरकारी संरचनामा जोडिने अपेक्षा राखिएको छ। आम कर्मचारी वृत्तमा पनि उनको क्षमतामाथि सकारात्मक दृष्टिकोण रहेको बताइन्छ।
युवा आन्दोलनको भावनालाई समयसापेक्ष नीति तथा प्रशासनमा रूपान्तरण गर्न सक्ने, आर्थिक सुधारलाई व्यावहारिक बनाउन सक्ने र सुशासनमा स्पष्ट दृष्टि राख्ने व्यक्तिका रूपमा डा. कृष्णहरि पुष्करको नाम अहिले मुख्य सचिवका लागि सबैभन्दा बलियो र उपयुक्त विकल्पका रूपमा उभिएको छ।