बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले संकटसँग भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

सोमबार, मंसिर १ २०८२

दैलेख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुक गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै एमाले संकटसँग जुध्न सक्षम, जिम्मेवार र निर्णायक शक्ति भएको दाबी गरेका छन्।

दैलेखको पटांगीनी, दुल्लूमा आइतबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन पार्टीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।

महासचिव पोखरेलले भदौ २३ र २४ मा संवैधानिक निकायहरूमा भएको तोडफोड र आगजनीलाई “राष्ट्रलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र” भन्दै कडा आलोचना गरे। उनले भने, “सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्रविरुद्धको गम्भीर अपराध हो। एमाले संकटसँग भाग्ने होइन—सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेको छ।”

उनले नेता–कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन पनि आग्रह गरे ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा पोलिट्ब्युरो सदस्य यामलाल कंडेलले दिगो स्थिरता कायम गर्न आगामी निर्वाचनमा एमाले एक्लै बहुमतसहित अगाडि आउनुपर्ने आवश्यकता औँल्याउँदै भने, “जनताको रोजाइमा पहिलो पार्टी एमाले नै हो, अब एकताबद्ध भएर अघि बढ्नुपर्छ।”

दैलेख जिल्ला कमिटीका अध्यक्ष सूर्यबहादुर शाहीले जेनजी आन्दोलनपछि बनेको सरकारले असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभा पुनःस्थापना गरे मात्र मुलुकले मार्गनिर्देशन पाउने दाबी गरे। उनका अनुसार एमाले र जनता एकताबद्ध भई अघि बढे मात्रै मुलुक संकटमुक्त बन्न सक्छ।

शाहीले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र राजनीतिक स्थिरताका लागि सबै कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै मुलुकलाई अस्थिरताबाट जोगाउन एकताबद्ध प्रयास आवश्यक रहेको बताए।