काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा लक्जेम्बर्गमा हुने एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को वार्षिक बैठकमा सहभागी नहुने भएका छन्।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन पूर्वतयारीका लागि भन्दै उनले अन्तिम समयमा आएर लक्जेम्बर्ग भ्रमण रद्द गर्ने निर्णय लिएका हुन्।
आगामी शुक्रबारबाट सुरु हुने एआइआइबीको बैठकमा भाग लिन अर्थमन्त्रीसहितको टोली आज त्यसतर्फ लाग्ने कार्यक्रम थियो।
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले आगामी आवको बजेट कार्यान्वयनका लागि पूर्वतयारीको काम नसकिएकाले अर्थमन्त्रीले भ्रमण रद्द गरेको जानकारी दिए।
‘एआइआइबीको बैठक पनि हाम्रा लागि निकै महत्वपूर्ण थियो,’ प्रवक्ता खत्रीले भने, ‘तर, उहाँले बजेट कार्यान्वयनका लागि आवश्यक पूर्वतयारीमा बढी जोड दिनुभएको छ, त्यहीकारण लक्जेम्बर्ग नजाने निर्णय लिनुभएको हो।’
मन्त्री खतिवडाले एआइआइबीको बैठकमा सम्बोधन गर्ने कार्यक्रम थियो। त्यहाँ उनले एआइआइबीका अध्यक्ष, युरोपियन इन्भेस्टमेन्ट बैंकका उपाध्यक्ष, युरोपियन युनियनका निर्देशकलगायतसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रमसमेत तय भएको थियो।
अर्थमन्त्री नजाने भएपछि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा नेतृत्वको टोलीले उक्त बैठकमा सहभागिता जनाउने प्रवक्ता खत्रीले जानकारी दिए।