काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुटोस् भन्ने कुनै समय आफूले नचाहेको बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्दै खनालले भने, “हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेको होइनौं । तर पार्टीभित्र केही कुरा पसे, त्यसकारण पार्टीमा समस्या देखियो । अब त्यसलाई निकालेर फ्याँक्नुपर्छ र नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ ।”
उनले स्पष्ट पारे, कम्युनिस्ट एकतालाई कसैले जलाउन वा टुटाउन नसक्ने बताए । खनालले आफूले पूर्वप्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्डसँग केही महत्वपूर्ण कुरा मिलाउने विषयमा स्पष्ट वार्ता गरेको र त्यसको प्रतिबद्धता पाएपछि मात्र एकता सभामा उपस्थित भएको पनि बताए ।
साथै, उनले राष्ट्रको एकता र नेपालको साझा भविष्यका लागि पार्टी एकताको आवश्यकतालाई जोड दिए । खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताए ।
‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं,’ उनले भने । यसअघि पनि कम्युनिस्ट एकता भएको जिकिर गर्दै ‘ए’ र ‘कता’ बेग्लाबेग्लै भएको बताए ।
‘यो भन्दा अगाडि पनि हामीले एकता त गर्यौं नि कमरेडहरू । तर ए बेग्लै भयो कता कता भयो । अरु हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर थुप्रै पार्टी छन् । म उहाँहरूलाई पनि भन्न चाहन्छु, नयाँ ढंगले सोचौं,’ उनले भने । कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोप नगर्न पनि आग्रह गरे ।