बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अग्निदहन विमोचित

मंगलबार, असार २४ २०७६

काठमाडौं असार, २४–
असार २१ गते शनिवारका दिन विज्ञान कथाकार तथा पत्रकार लोकमणि पौडेलद्वारा लिखित अग्निदहन नामक उपन्यासको एक विशेष समारोहका बीच लोकार्पण कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबाट बत्तीसपुतली स्थित शिल्पी थिएटरमा उक्त उपन्यासको विमोचन भएको थियो । लोकार्पणमा सुशीला कार्कीलाई साथ दिँदै अन्य विशिष्ट व्यक्तिहरु एवम् लेखक लोकमणि पौडेल स्वयंबाट पनि पुस्तकको लोकार्पण गरिएको थियो ।
कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार तथा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले गर्नुभएको थियो भने गोरखा पब्लिकेशन्स प्रा.लि. का सल्लाहकार वरिष्ठ इञ्जिनियर रामबाबु शर्माले स्वागत मन्तव्य दिँदै उपन्यासका बारेमा संक्षिप्त प्रकाश पारेका थिए । 
लोकार्पण पश्चात् वरिष्ठ साहित्यकारहरुले उक्त उपन्यासका बारेमा समालोचना प्रस्तुत गरका थिए । उपन्यासका बारेमा आफ्नो धारणा राख्दै शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले कृति मनोरञ्जक हुनुसँगै उद्देश्यपूर्ण भएकाले यसलाई स्कूल तथा कलेजले पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । समाजमा घटिरहेका घटनाहरुलाई जस्ताको तस्तै उतार्न सक्ने लेखकको खूबीको खुलेर प्रशंसा गर्नुभयो ।
उपन्यासका बारेमा बोल्दै वरिष्ठ साहित्यकार, समालोचक तथा भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेललेयसले वैज्ञानिक ढंगबाट सामाजिक रुपान्तरणको संकल्प बोकेको हुँदाहुँदै पनि उपन्यास पढ्दा समय गएको पत्तै नपाइनु यसको मुख्य विशेषता रहेको बताउनुभयो । उपन्यासको भाषा सरल हुनुसँगै लोकबोलीलाई यथारुपमा पस्कनु उपन्यासको विशेषता रहेको उहाँको धारणा थियो ।
पूर्व समाजकल्याण मन्त्री जाकिर हुसेनले लेखकको लेखनशैलीबाट आँफू धेरै वर्षदेखि निकै प्रभावित भएको बताउँदै यो उपन्यास मनोरञ्जक सँगसँगै उद्देश्यपूर्ण भएकाले साहित्यका क्षेत्रमा यो एउटा कोशे ढुंगो सावित हुने दावी गरे  । बजारमा देखिएका अन्य उपन्यासभन्दा अलग शैलीको उपन्यास भएकाले यसलाई सबैले रुचाउने छन् भन्ने विचार व्यक्त गरे । 
विशिष्ट अतिथिका रुपमा वरिष्ठ मनोचिकित्सक डा.देशराज बहादुर कुँवर, इथियोपियाका महावाणिज्य दूत राजेन्द्र गिरी तथा समाजसेवी भुवनेश्वर शर्मा पनि सभामा उपस्थित थिए । 
लेखक लोकमणि पौडेलले आँफूले यो उपन्यास समाजमा घटिरहेका घटनाहरुको नजीकबाट अध्ययन गरेर मात्रै लेखेको बताउँदै उपन्यास पूरा गर्न पाँच वर्ष लागेको बताए । उनका अनुसार उपन्यासमा वर्णन गरिएका घटनाहरु सत्य हुँदाहुँदै पनि पात्रहरुको नामलाई परिवर्तन गरेर निजी जीवनलाई खलल नपुर्याउने चेष्टा गरिएको छ । उपन्यासमा २०६७ सालदेखि २०७२ सालसम्मका घटनाहरु समावेश भएकाले यो उपन्यास आरम्भ गरेर सिध्याउन पाँच वर्ष लागेको कुरा लेखक पौडेलले जानकारी दिएका थिए  ।उपन्यास पाण्डुलिपि अवस्थामै हुँदा यसलाई मन पराएर एउटा सामाजिक संस्थाले त्यसैमा चलचित्र तयार गरेको र त्यो चलचित्रलाई चलचित्र विकास बोर्डले २०७४ को सर्वश्रेष्ठ सामाजिक चलचित्रको पुरस्कार प्रदान गरेको कुराले आँफू उत्साहित भएको व्यहोरा लेखकले बताए । तर चलचित्रको समयसीमाका कारणले उपन्यासका सबै प्रसंग समेट्न नसकिएकाले पुस्तकाकार रुपमा पाठकमाझ उपन्यास लिएर आएको उनको भनाई थियो ।
जम्मा १७६ पृष्ठको उक्त उपन्यासको मूल्य रु. ३२५ राखिएको छ । छपाई र साजसज्जाका दृष्टिले उपन्यास आकर्षक देखिन्छ । उक्त उपन्यासको प्रकाशन गोरखा पब्लिकेशन्स प्रा.लि.ले गरेको हो ।