वीरगन्ज । केही समाचार नै यस्तै हुन्छन् । सुन्दा पनि मानिसहरुको मन बिझाउँछ । वीरगञ्जमा यस्तै एक घटना भएको छ, जहाँ छोराले आफ्नै आमाको हत्या गरेका छन् ।
वीरगन्ज महानगरपालिका २४ रामगढवाको नयाँवस्तीमा छोराले आमाको हत्या गरेका छन् । नयाँवस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा गुडडुले आमा शोभा देवीको हत्या गरेको प्रहरीले जनाएको छ । भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
धारिलो हतियार प्रहार गर्न थालेपछि भाग्ने क्रममा आमा शोभादेवीलाई लखेटदै गुड्डुले सडकमा पुगेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।