तनहुँ असार, २३–
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी चौकी चन्द्रावती र प्रहरी चौकी थर्पु, तनहुँको नवनिर्माण हुने भवनको आइतबार शिलान्यास गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारी आफू चरित्रवान भएमात्र अरुलाई चरित्रवान बनाउन सकिने बताए । प्रहरीलाई जनताले हेर्ने दृष्टिकोण र भ्रम चिर्नका लागि विभिन्न कार्यक्रम ल्याईएको उनले उल्लेख गरे ।
समुदाय—प्रहरी साझेदारी कार्यक्रमले समन्वयात्मक रुपमा काम गर्न सहयोग पुर्यारउने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी र समुदाय मिलेर काम गरेमा जस्तोसुकै अपराध नियन्त्रण गर्न सकिने बताए । शान्ति सुरक्षा अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरी दक्षिण एशियामै उत्कृष्ट रहेको विचार व्यक्त गर्दै उहाँले यस प्रतिष्ठालाई कायम राख्न अझ सक्रिय हुनुपर्नेमा जोड दिए ।
नवनिर्माण हुने भवन तोकिएको समयभित्र र गुणस्तरयुक्त रुपमा निर्माण सम्पन्न गर्न प्रहरी महानिरीक्षक खनालले निर्माण कम्पनीलाई आग्रह समेत गरे ।
नेपाल सरकारको नियमित बजेटबाट प्रहरी चौकी चन्द्रावती १ करोड २३ लाख ३७ हजार ६ सय ९ रुपैयां ७३ पैसा तथा प्रहरी चौकी थर्पु १ करोड ५७ लाख ७ हजार ९ सय ९५ रुपैयाँ ४२ पैसामा निर्माण कार्य सम्पन्न हुनेछ । उक्त दुबै भवन २०७७ असार १९ गतेभित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको छ ।