काठमाडौं असार, २२–
देशको ब्यापार घाटा दिनप्रतिदिन बढ्दै गएको छ । पेट्रोलियम पदार्थको आयात ठूलो मात्रामा बढ्दा ब्यापार घाटा उच्च हुन गएको हो । साथै मनोरञ्जनका साधन खेलौना जस्ता सामानको आयात पनि पछिल्लो समय उच्च मात्रामा आयात भएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यो वर्षको १० महिनामा चीनबाट मात्रै १ अर्ब १८ करोड रुपैयाँको खेलौना आयात भएको छ । यस्तो आयात गत वर्षको १० महिनाको तुलनामा ९३ दशमलव ९ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो आयात ६१ करोडको भएको थियो । आर्थिक वर्ष २०७३÷०७४ को तुलनामा यस्तो आयात शुन्य दशमलव ६ प्रतिशतले घटेको थियो ।
खेलौनाहरु अहिले ठूलो मात्रामा चीनबाटै आयात हुने गरेको छ । साथै तेस्रो मुलुकहरुबाट पनि १६ करोडको खेलौना आयात भएको छ । तर, तेस्रो मुलुकबाट हुने खेलौना आयातमा भने केहि कमि आएको राष्ट्र बैंक बताउँछ । अन्य मुलुकबाट हुने यस्तो खेलौना आयतमा ५४ प्रतिशतले गिरावट आएको छ । किनकी अघिल्लो आर्थिक वर्षमा अन्य मुलुकबाट ३६ करोडको खेलौना आयत भएको थियो ।
देशमा कृषिजन्य बस्तुको समेत आयात हुने गरेको छ । उपभोगका सबैजसो सामान विदेशबाट आयात हुने गरेका छन् । जसका कारण नै ब्यापार घाटा चुलिदै गएको हो ।
आर्थिक वर्ष २०७५/७६ को दश महिनामा व्यापार घाटा १९.७ प्रतिशतले विस्तार भई १० खर्ब ९९ अर्ब ६० करोड पुगेको छ । यो झन्डै एक वर्षको बजेट बराबर हो ।
राष्ट्र बैंकका अनुसार दश महिनामा कुल वस्तु निर्यात १८.१ प्रतिशतले वृद्धि भई ७८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३१.९ प्रतिशत र अन्य मुलुकतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ ।
चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७५/७६ को दश महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर रु.११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १७.२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेक अन्य मुख्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ ।