बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विमानस्थलका प्रहरी कर्मचारीलाई सकारात्मक सोचको विकास तथा अंग्रेजी भाषा सम्बन्धि तालिम प्रदान

शुक्रबार, असार २० २०७६

काठमाडौं असार, २०–
त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरुलाई ‘सकारात्मक सोचको विकास तथा अंग्रेजी भाषा र शिष्‍ट व्यवहार’ विषयमा अनुक्षिक्षण (तालिम) दिईएको छ । 
विमानस्थल कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायतका प्रहरी कर्मचारीहरुलाई यस त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलको युनियन हलमा तालिम प्रदान गरिएको हो । 

असार १७  गतेबाट संचालन भएको तालिम आज सम्पन्न भएको हो ।  प्रहरी कर्मचारीहरुमा सकारात्मक सोचको विकास, सामान्यतया अंग्रेजी भाषाको ज्ञान भई यात्रुहरुलाई परेको समस्यालाई सजिलै समाधान गर्न सक्ने उद्देश्यका साथ उक्त तालिम प्रदान गरिएको बताईएको छ ।  सो तालिमले  आचरण व्यवहारमा सकारात्मक परिवर्तन भई सेवाग्राही (यात्रु) हरुलाई सभ्य, शिष्‍ट र नम्र व्यवहार गरी यात्रु सेवा मैत्री बनाई स्मार्ट प्रहरीको रुपमा कार्य गर्न सक्ने प्रहरी कर्मचारी बन्न सक्ने अपेक्षा गरिएको छ । 

आम नागरिक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रहरीको छवि उच्च राख्ने हेतुले उक्त प्रशिक्षण दिइएको विमानस्थल प्रहरीले जनाएको छ ।  प्रशिक्षकहरुमा प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारी, प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईराला र प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकार रहेका थिए । । उक्त अनुशिक्षण तालिम सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समेत रहेका  विमानस्थल कार्यालयका कार्यालय प्रमुख  एसएसपी सन्दिप भण्डारीले प्रहरी कर्मचारीहरुलाई ईमान्दार, अनुशासित, व्यवसायिक भई सिकेका कुराहरुलाई व्यवहारमा उतारी यात्रु मैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।