बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खाद्यान्न र तरकारीको भाउ आकासियो, उपत्यकामा दोब्बरले बढ्यो

शुक्रबार, असार २० २०७६

काठमाडौं असार, २०–
चैत महिनाको तुलनामा वैशाख महिनामा मूल्यवृद्धि बढेको देखिएको छ । आयातीत बस्तुको मूल्यसँगै अहिले देशमै उत्पादित कृषिजन्य बस्तुको समेत भाउ बढेको छ । जसले गर्दा समग्रमूल्यवृद्धि नै ह्वात्तै बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थ मुद्रास्फीति २०७६ बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३.२ प्रतिशत रहेको थियो ।

त्यसैगरि  गैर–खाद्य तथा सेवा मुद्रास्फीति अघिल्लो वर्षको बैशाख महिनामा ४.८ प्रतिशत रहेको थियो  तर यो वर्षको बैशाखमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ ।

क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढि मूल्यबृद्धि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैशाख महिनामा हिमालमा ६.१ प्रतिशत मूल्यबृद्धि रहेको छ । जुन गत वर्ष ६.३ प्रतिशत रहेको थियो । यसरी हेर्दा हिमाली क्षेत्रमा त गत वर्षका तुलनामा मूल्यवृद्धि नियन्त्रणमा आएको देखिन्छ ।

काठमाडौं उपत्यकामा मूल्य बृद्धि अहिले ६.०५ प्रतिशतमा रहेको छ । जुन गत वर्ष ३.३ प्रतिशत रहेको छ । यसरी हेर्दा काठमाडौंमा दोब्बरले भाउ बढेको देखिन्छ । पहाडी क्षेत्रको मूल्यवृद्धि पनि नियन्त्रणमा नै  रहेको देखिन्छ । गत वर्ष ५ दशमलव ७ प्रतिशत रहेको मूल्यबृद्धि अहिले ५ प्रतिशतमा सिमित छ । त्यसैगरि तराईको मूल्यवृद्धि अहिले ४.९ प्रतिशत रहेको छ । जुन गत वर्ष ४.० प्रतिशत रहेको थियो ।

 नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७६ बैशाख महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो ।