बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लोकतन्त्र जनताको आवाज सुन्ने प्रणाली हो : प्रधानमन्त्री कार्की

'६ महिनाभित्र प्रतिनिधि सभाबाट जिम्मेवार सरकारलाई सत्ता हस्तान्तरण गर्ने लक्ष्य'

शुक्रबार, असोज ३ २०८२

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन्।

संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा उहाँले यस अवसरमा देशका सबै नागरिकले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्नुपर्ने पनि उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले जेन–जी पुस्ताको आन्दोलनले उठाएका मुद्दा-रोजगारी, गुणस्तरीय जीवनस्तर, पारदर्शी प्रशासन, कानूनी समानता, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास-साँचो राष्ट्रिय एजेण्डा भएको बताइन्।

‘यी एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ। मैले कुनै शाशकीय आकांक्षा बोकेर वा पदको लालसा लिएर प्रधानमन्त्री भएको छैन। देश संकटमा रहेको बेलामा युवा पुस्ताको अनुरोधअनुसार संक्रमण व्यवस्थापन गर्दै संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जिम्मेवार सरकारलाई हस्तान्तरण गर्नेगरी प्रधानमन्त्री भएको हुँ,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले संविधान दिवसलाई केवल उत्सव मात्र नभइ लोकतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, सक्षम न्यायपालिका, कानुनी राज्य र सुशासनको मूल्यांकन गर्ने दिनको रूपमा मनाउनुपर्नेमा जोड दिइन् ।