बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अधिक तरलता व्यवस्थापनको लागि राष्ट्र बैंकको ९० अर्ब निक्षेप बोलकबोल

बिहिबार, असोज २ २०८२

काठमाडौँ। अधिक तरलता कायम रहेकाले नेपाल राष्ट्र बैंकले आज (बिहीवार) ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

कुल निक्षेप हाल ७२ खर्बभन्दा बढी पुगेको छ। राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन र ब्याजदर सन्तुलन कायम राख्न दीर्घकालीन निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको हो।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोलाएको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल्ने रकम प्राथमिकतामा राखिनेछ र आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

आजको निक्षेप संकलन अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरी ब्याजदर निर्धारण गरिनेछ। निक्षेपको सावाँ र ब्याज २०८२ असोज १२ गते भुक्तानी हुनेछ। बोलकबोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम रकम ५ अर्ब रुपैयाँ निर्धारण गरिएको छ।

केन्द्रिय बैंकको खुला बजार कारोबार कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता अधिक देखिएमा बजार ब्याजदर व्यवस्थित गर्न आवश्यक परेमा संरचनात्मक खुला बजार कारोबार अन्तर्गत ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।