बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कठिनाइमा पनि निजी क्षेत्रको मनोबल कमजोर पार्न हुँदैन : अध्यक्ष ढकाल

आइतबार, भाद्र २९ २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका संस्थापक चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा निजी सम्पत्तिमाथि भएको आक्रमणले ठूलो क्षति भए पनि निजी क्षेत्रले आफ्नो आत्मबल गुमाउनु नहुने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत् अपिल जारी गर्दै उनले विगतमा भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता संकटका बेला पनि उद्योगी व्यवसायीलाई हौसला दिँदै आएको स्मरण गरे। उनले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इञ्जिन भएको उल्लेख गर्दै यसले ८१ प्रतिशतभन्दा बढी योगदान र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य नयाँ पुस्ताले बुझ्नुपर्ने आवश्यकता औंल्याए।

चन्द्रागिरि र मौलाकाली केबलकारलगायत आफ्ना आयोजनामा ठूलो क्षति पुगेको बताउँदै ढकालले निजी क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी भएकाले व्यक्तिगत पीडाभन्दा ठूलो जिम्मेवारीमा ध्यान दिनुपर्ने बताए। “बीउ पुँजीबिना शून्यबाट सुरु गरेको व्यवसाय आज २० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी र लाखौंलाई अप्रत्यक्ष रूपमा जोड्न सफल भएको छ,” उनले स्मरण गरे।

आफ्नो निराशाले कर्मचारी र अन्य व्यवसायीको आत्मबलमा नकारात्मक असर पर्न सक्ने भन्दै ढकालले क्षतिग्रस्त आयोजनाका तस्बिर तथा भिडियो सार्वजनिक नगर्न निर्देशन समेत दिएका छन्। अर्बौं लगानी नष्ट हुँदा आँसु पिएर बस्न मन लागे पनि परिस्थितिले खरानीबाट पुनः उठ्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे।

राज्यको प्राथमिकता, आमजनताको आवश्यकता र दीर्घकालीन सम्भावनालाई आधार बनाएर मात्रै व्यवसाय अघि बढाउन सकिने भन्दै ढकालले आफ्ना आयोजनामा स्थानीय साझेदारीलाई प्राथमिकता दिने मोडल अपनाएको जानकारी पनि दिए।