बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ड्रोन क्षेत्रको क्षमता अभिवृद्धिमा ड्रो नेपालसँग नेपाल प्रहरीको सहकार्य

शनिबार, असार १४ २०७६

काठमाडौं असार, १४-
ड्रोन क्षेत्रमा क्षमता अभिवृद्धि गर्न ड्रो नेपालको सहकार्यमा प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा संचालित ‘ड्रोन पाइलट ट्रेनिङ’ शुक्रबार समापन भएको छ ।
तालिम समापन कार्यक्रममा उक्त निर्देशनालयमा प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिव सुब्बाले विपद् ब्यवस्थापन, ट्राफिक व्यबस्थापन र सुरक्षा कार्यक्रममा ड्रोन प्रविधिको प्रयोगबारे प्रकाश पार्दै ड्रोन प्रविधि मार्फत प्राप्त हुने डाटा र सूचनालाई ऐनलाईटिक्स प्रविधि मार्फत प्रहरी कार्यको लागि अप्रेस्नलाईज गर्नु अबको बाटो रहेको बताउनुभयो । ड्रो नेपालसँग सहकार्य गर्न पाउनु उपलब्धिमुलक रहेको चर्चा गर्दै उहाँले निकट भविष्यमा ड्रोन प्रविधिलाई प्रदेशस्तरसम्म विस्तार गर्ने योजना नेपाल प्रहरीको रहेको बताउनुभयो । 
प्रहरी नायव महानिरीक्षक डा. सुब्बाले तालिम संचालमा सहयोग गर्ने ड्रो नेपालका कार्यकारी निर्देशक दर्पण पुडासैनीलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गर्नुभयो । प्रहरी नायव उपरीक्षक जयशंकर शर्माले तालिमका उपलब्धिबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रममा ड्रो नेपालका कार्यकारी निर्देशक दर्पण पुडासैनीले समुदाय(प्रहरी साझेदारी कार्यक्रममा नेपाल प्रहरीसँग सहकार्य गर्न पाउनु खुसीको कुरा रहेको उल्लेख गर्दै भविष्यमा थप सहयोग र सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गर्नुभयो । 
असार ४ गतेदेखि संचालन गरिएको सो तालिममा उक्त निर्देशनालयका सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु गरी १० जनाको सहभागिता रहेको थियो । तालिममा ड्रो नेपालका कार्यकारी निर्देशक दर्पण पुडासैनी लगायतका प्रशिक्षकले ड्रोन प्रविधि सम्बन्धि सैद्धान्तिक ज्ञान सहितको प्रशिक्षण प्रदान गर्नुभएको थियो ।