काठमाडौं । हप्ता दिनको मात्रै काम बाँकी रहँदा माथिल्लो त्रिशुलीको चिनियाँ ठेकेदारले काम रोकेको छ । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनामा कार्यरत चिनियाँ कामदारले भिसा नपाएको भन्दै ठेकेदार कम्पनीले काम रोकेका हुन् ।
३० मेगावाटको पहिलो युनिटबाट विद्युत उत्पादन भएर राष्ट्रिय प्रशारणलाइनमा जोडिए पनि दोस्रो युनिटबाट विद्युत उत्पादनको काम बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरणले असार १५ गतेभित्र दोस्रो युनिटबाट पनि विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोमा चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)ले कामदारको भिसाको समस्या देखाउँदै काम रोकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
अधिकारीका अनुसार करिब सात दिन भित्र सकिने काम मात्रै रहेको अवस्थामा कम्पनीले काम रोकेको हो । असार दोस्रो साता भित्र दोस्रो युनिटबाट पनि ३० मेगावाट विद्युत उत्पादन गर्दै ६० मेगावाट विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोड्ने प्राधिकरणले लक्ष्य लिएको थियो ।
प्राधिकरण र सिजिजिसीबीच सन २०१० मा इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । २०१४ भित्र आयोजनाको निर्माण सक्ने लक्ष्य भएपनि आयोजनाको विद्युत गृह भूमिगत बनाउने वा सतहमा बनाउने, क्षमता बृद्धि गर्ने वा नगर्ने लगायतका विवादमा आयोजना फसेपछि करिब ९ वर्षपछि मात्रै आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको थियो ।