काठमाडौं असार, १२– नेपालीहरुको पछिल्लो समय डाटा तथा इन्टरनेटमा गर्ने खर्च ह्वात्तै बढेर गएको छ । युुट्युव , फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता दिनदिनै बढेका छन् । जसका कारण एक वर्षमै नेपालीले डाटामा ३१ अर्ब खर्चेका छन् ।
दुरसञ्चार प्राधिकरणका अनुसार एक वर्षमा डाटा गरिने खर्च १६ प्रतिशतले बढेको छ । नेपालमा १ करोड ८२ लाखको हाराहारीमा इन्टरनेट प्रयोगकर्ता छन् । पछिल्लो एक वर्षमा मात्रै यस्ता प्रयोगकर्ता करीब २१ लाख थपिएको प्राधिकरण बताउँछ ।
कुल जनसंख्याको ६२ प्रतिशत अहिले इन्टरनेटको पहुँचमा छन् । ६२ प्रतिशत जनसंख्या वायर, वायरलेस तथा मोवाइल मध्ये कुनै न कुनै माध्यमवाट इन्टरनेटको सुविधा लिइरहेका छन् । ६२ प्रतिशत मध्ये ४८ प्रतिशतले मोबाइलबाट नै इन्टरनेटको सुविधा लिइरहेका छन् । इन्टरनेटका ४८ प्रतिशत प्रयोगकर्ता त दैनिकी सहज बनाउनभन्दा पनि मनोरञ्जनका लागि इन्टरनेट प्रयोग गरिरहेका छन् । वैदेशिक रोजगारीका कारण अहिले नेपालमा ठूलो मात्रामा स्मार्टफोनको आयात बढेको छ । जसले नै डाटा सेवाको प्रयोग बढाइरहेको छ ।
स्मार्टफोन प्रयोगकर्ता र डाटातर्फको कारोबार बढेपनि भ्वाइसकलतर्फको कारोबार भने घट्दै गएको छ । किनभने, अन्तर्राष्ट्रिय कलका ग्राहकले म्यासेन्जर, भाइबर, इमो, ह्वाट्स एपलगायत मार्फत् सित्तैमा कुरा गरिरहेका छन् ।
भ्वाइसकलको व्यापार घटेपछि कम्पनीहरुको कुल आम्दानी पनि घटेको छ । ठूला करदाता सेवा कार्यालयका अनुसार गत वर्ष टेलिकम क्षेत्रको कुल आम्दानी ९३ अर्ब २८ करोड थियो । यो वर्ष १७ दशमलव ७३ प्रतिशतले घटेर ७६ अर्ब ७४ करोडमा सीमित हुने कम्पनीहरुको अनुमान छ ।