काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै पुर्वप्रधानमन्त्री भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका हुन्। सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको मतादेश दिगो नहुने तर्फ सचेत बन्न उनले आग्रह गरे ।
उनले भने, ‘फलेको हाँगो झुक्छ । तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ। त्यसकारण तपाईहरुले दम्भको प्रर्दशन गर्ने होइन। मतादेश दिगो नहुन पनि सक्छ ।’
उनले छिमेकी पश्चिम बंगालमा ३४ वर्ष सम्म बामपन्थीको सरकार चलेको र अहिले बंगालमा एक सिट पनि नजितेको उदाहरण समेत दिए ।
दम्भकै कारण ७० बर्ष सम्म सोभियत संघमा कम्युनिस्ट शासन चलेको र त्यहा अहिले कम्युनिस्ट पार्टीको नाम निसान पनि खोज्न गाहे भईरहेको अवस्थाबाट सिक्न आग्रह गर्दै उनले भने, ‘हामीले दम्भ त्यागौँ र झुकौँ । अरुको कुरा सुनौँ । नलेज स्पिक्स, वीजडम लिसन्स । ज्ञान बोल्छ, बुद्धि सुन्छ । ’
उनले सरकारका पछिल्ला कदमले सरकार केन्द्रीकरण तर्फ जान लागेको संकेत दिएको टिप्पणी गरे । गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरित ल्याईएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्न उनले माग गरे ।
उनले भने, ‘हामी खस आर्य समुदायले एउटा उखान बनाएका छौँ। ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माईतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले यसबाट हाम्रा ज्वाई प्रधानमन्त्री, ज्वाई उपप्रधानमन्त्री , ज्वाई मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’