काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विपक्षीको हुने भएका कारण विपक्षी दलको नेताले पहिला बोल्न पाउनु पर्ने तर्क प्रस्तुत गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा बोल्दै संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले उनले प्रधानमन्त्रीभन्दा पहिला प्रतिपक्षीले बोल्न पाउने विश्वव्यापी चलन भएको उल्लेख गरे ।
संसदमा सरकार र विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक देखिएका सभापति देउवाले संसदमा पहिले नै आफूले समय मागेको तथ्यलाई ओझेलमा पारेर प्रधानमन्त्रीले बल मिच्याईं गरेको आरोप लगाए ।
उनले भने, ‘संसद विपक्षको हो, बोल्ने विपक्षले हो’, उनले भने, ‘यो संसारभरको मान्यता हो, यहाँ मात्रै जबर्जस्ती गरेर हुँदैन ।’
सभापति देउवाले विपक्षीले माग राख्ने, खबरदारी गर्ने र त्यस्ता माग सरकारले पूरा गर्ने नै चलन रहेको उल्लेख गरे ।
उनले सधै सरकारले बल मिच्याईं गर्न खोजे कांग्रेस प्रतिरोधमा उत्रिने चेतावनी पनि दिए ।