काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै गायब भएपछि खोजतलास सुरु भएको छ ।
यहाँको गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आउनु भएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए । यो परिवारले सीमान्तकृत समुदाय अन्तर्गत सामाजिक सुरक्षा भत्ता पाउँछन् । श्रेष्ठका अनुसार उनीहरू अहिले घरमा छैनन् । घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।
घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ ।
हायुको घरमा सामान्य क्षति भएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैँसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि भेटिएका छैनन् ।
स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको बारेमा बुझ्ने काम भइरहेको छ ।