काठमाडौं जेठ, २९– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले लुटतन्त्र मच्चाउन सरकारले गुठी विधेयक ल्याएको आरोप लगाएका छन् । बुधबार राजधानीमा गुठी विधेयकविरुद्ध संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बोलदै पूर्वउद्योगमन्त्री समेत रहेका जोशीले उक्त कुरा बताएका हुन् । उनले भने,‘नागरिकले आफ्नो धर्म संस्कृति र परम्परा संरक्षणका निम्ति खडा गरेको गुठीमाथि धावा बोल्न खोजिँदै छ । गुठीको सम्पत्तिमा आखा लगाइरहेका दलालहरुलाई पोस्न गुठी विधेयक ल्याएको हो ।’
विधेयकका विरुद्ध राजनीति भन्दामाथि उठ्न उनले सबैलाई आग्रह पनि गरे । अधिनायकवाद र सर्वसत्तावादी चरित्रतर्फ उन्मुख सरकारले हाम्रो परम्परामा धावा बोलेको छ । नेता जोशीले भने, ‘यो विधेयकका विरुद्ध राजनीति भन्दामाथि उठ्न सबैलाई आग्रह गर्छु ।’
गुठीयारको अधिकार खोसेर लुटतन्त्र मच्याउन सरकार अग्रसर भएको नेता जोशीको आरोप थियो । उनले धर्म संस्कार र संस्कृतिको नाश नहुन दिन एकजुट हुन सबैलाई आग्रह गरे ।