काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई लैजाने गिरोहको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति गठन गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसहित ६ सदस्यीय समिति बनाइएको हो । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सञ्चारमाध्यममा आएका विवरणहरूको जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई जिम्मेवारी दिइएको छ ।
सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो विषयमा प्रहरीमार्फत छानबिन अघि बढाउने निर्णय भएको थियो । बैठकमा प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललगायत सहभागी थिए ।