पोखरा जेठ, २६–
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकार दुई तिहाइको बलमा अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले सरकारले संवैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको आरोप लगाएका हुन् ।
वर्तमान सरकार अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचारमा जुटेको नेता महतको आरोप छ ।
उनले भने,‘अरबौ रुपैयाँ भ्रष्टाचार भएका मुद्दाहरू बाहिर आउँदा समेत अख्तियार लगायतका संस्था मौन बस्छन् यो केको संकेत होरु भनी प्रश्न गरे ।
पूर्वमन्त्री समेत रहेका महतले भ्रष्टाचारी पार्टी कै सभापति भए पनि छाड्न नहुने बताए।
उनले भने, ‘भ्रष्टाचारमा सरकार आफैं संलग्न छ, उसले छानबिन समिति बनाउने त कुरै भएन,भ्रष्टाचार गर्ने मन्त्री र नेताको समेत बचाउ गर्छ, तर भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पनि मौन बस्नु बिडम्वना हो।’
सहमहामन्त्री महतले प्रधानमन्त्री ओलीले कुरा गर्ने काम नगर्ने प्रवृत्ति देखिएको बताउँदै उनले भने,‘आम जनताले वर्तमान सरकारबाट समृद्धिको आशा गर्नु ठूलो भूल हुनेछ।’
सरकारबाट जनताले जुन आशा गरेका थिए त्यो आशा र अपेक्षा पूरा हुन नसक्ने उनले दाबी गरे।
नेता महतले अहिलेकै अवस्थामा दुई अंकको आर्थिक वृद्धि हुन नसक्ने बताए।
उनले भने,‘देशमा असुरक्षा, मजदूर आन्दोलन, लगानी मैत्री वातावरण नहुनुको साथै नेताको व्यक्तिगत सेवा सर्त पूरा गर्नुपर्ने भएकाले विदेशी लगानीको त कुरै छाडौं स्वदेशी लगानीकर्ता समेत लगानी गर्न अघि सरेका छैनन्।’