काठमाडौं जेठ, २४–
गए राति कैलाली, कञ्चनपुर र वर्दियामा आएको हावाहुरीको कारण दुुई जनाको मृत्यु भएको छ भने एक सय तीन जना घाइते भएका छन् । घाइतेमध्ये ८३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।
हावाहुरीको कारण मृत्यु हुनेमा कैलाली टिकापुर नगरपालिका २ राजिपुर बस्ने ४७ वर्षीय लाहानु दबैरा र कैलाली गोदावरी नगरपालिका ८ बस्ने ३५ वर्षीय बीर बहादुर चौधरी रहेका छन् । हावाहुरीले पोल्ट्री फर्मको पर्खाल भत्किदाँ बेहोश भएका लाहानु दबैरालाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा थप उपचारको लागि नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने चौधरी सवार से.१ प ५८२१ नम्बरको मोटरसाइकल हुरीले अनियन्त्रित भई बा.३ प ३८३६ नम्बरको टिपरमा ठोक्किदा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार हावाहुरीमा परी कैलालीमा घाइते भएका ७८ जनामध्ये छ जनाको अञ्चल अस्पताल कैलालीमा तथा दुुई जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र दुुई जनालाई थप उपचारको लागि भारततर्फ लगिएको छ भने ६८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । साथै हावाहुरीमा परी कञ्चनपुरमा घाइते भएका २३ जनालाई उपचारको लागि अञ्चल अस्पताल महाकाली पठाइएकोमा १५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने आठ जनालाई थप उपचारको लागि सेती अञ्चल अस्पताल रिफर गरिएको छ ।
यसैगरी हावाहुरीमा परी वर्दिया बाँसगढी नगरपालिका ४ मदाह बस्ने २७ वर्षीया सुमित्रा बिक र उनका ५ वर्षीय छोरा नारायण बिक घाइते भएका छन् । कच्ची घर भत्किदा घाइते भएका उनीहरुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लगिएको छ । सबै स्थानमा प्रहरी टोली खटि गई स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गरिरहेको जानकारी प्रहरीले दिएको छ ।