शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गगनमाथि मोहन ‘अट्याक’

सोमबार, असार २३ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा अनेक रमिता र विवाद देख्न पाइन्छ। नेता शेखर कोइरालाले उद्योगी बिनोद चौधरी केन्द्रीय सदस्य बन्न काबिल नभएको बताइदिए।

चौधरीले जवाफ फर्काउँदै पार्टीलाई चन्दा दिएको भने। गुरु घिमिरेले फेरि चन्दा दिँदैमा केन्द्रीय सदस्य बन्न पाइन्छ? त्यसो भए चन्दा दिने सर्वसाधारण सबैलाई केन्द्रीय सदस्य बनाउन मिल्छ? भनेर प्रश्न गरे।

उता शंकर भण्डारीलाई हिन्दूत्व चाहिएको छ। उनी यहि मुद्दालाई कांग्रेसको बनाउनुपर्ने पनि बताइरहेका छन्। सभापति देउवा सबैका गीत मज्जाले सुनिरहेका छन्।

योबाहेक अर्को रोचक प्रसङ्ग बन्यो– मोहन बस्नेतले महामन्त्री गगन थापालाई लगाएको आरोप र दिएको चेतावनी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि गरेको अनुसन्धानमा गगनको हात रहेको बस्नेतको दाबी थियो।

यति मात्र होइन पूर्वमन्त्री बस्नेतले त कोही पनि चोखो नरहेको भनी आफू फँसे कोही बाँकी नरहनेसम्मको पनि चेतावनी दिए। थापा नभएको बैठकमा यसरी आरोप लगाएपछि जवाफ नआउने कुरै भएन।

थापाले पनि जवाफ दिँदै बस्नेतलाई चलाउनू भनेको गन्हाउनु रहेको संकेत गरे।

थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बस्नेतले आफूमाथि लगाएको “गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित” आरोपलाई फोहोरको संज्ञा दिए।

थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका थिए, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।’

टेरामाक्स प्रकरणमा मुछिँदै आएर धरौटीमा छुटेका मोहन बस्नेतले केन्द्रीय बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाए पछि थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काएका थिए।

उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका थिए, ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु –फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।’

थापाले सभापति देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे।

उनले भने, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’