शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कुलिङ पिरियड हरेफेर : सात सदस्यीय विशेष छानबिन समितिको नाम टुङ्गियो

सोमबार, असार २३ २०८२

काठमाडौं । निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भ गठन भएको छानबिन समितिको सदस्यहरुको नाम टुङ्गिएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई/दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक/एक जना रहने गरी सोमबार समिति गठन भएको थियो।

उक्त समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य रहेका छन् ।

माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने टुंगो लागेको हो ।

समितिको नाम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ भन्ने राखिएको छ।

आज सभामुख देवराज घिमिरेसँगको छलफल दलहरुले आआफ्नो पार्टीबाट सदस्यहरुको नामावली दिएका थिए । त्यो नाम सभामुखको सचिवालयले सार्वजनिक गरेको हो।

कांग्रेसले नेतृत्व गर्ने यो समितिलाई छानबिनका लागि २१ दिनको समय दिइनेछ ।