शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

विद्याको मियो

भण्डारीको एमालेमा सक्रिय राजनीतिको नेपथ्यका प्लेयर हुन् पोखरेल

सोमबार, असार २३ २०८२

काठमाडौं । नेकपा एमालेबाट माधव नेपाल, झलनाथ खनालहरू छुट्टिए। एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकल राज थियो, जबसम्म पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किने निधोमा थिइनन्।

ओलीको एकलवादी निर्णयलाई जसरी पनि स्वीकार गर्नुपर्ने बाध्यताको उकुस मुकुस कायम थियो। जब भण्डारी सक्रिय राजनीतिमा आउने घोषणा गरिन्, अब भने बहस तलसम्म पुग्न थालेको छ।

भण्डारीको मियोँका रुपमा पार्टीका बरिष्ठ नेता पनि खुल्न थालेका छन्। ओलीदेखि रघुवीर महासेठसम्म यहि विषयको तर्क गर्न बाध्य भएका छन्।

सचिव महासेठले भने,‘अध्यक्ष ओलीको सहमतिका आधारमा नै विद्या भण्डारी राजनीतिमा आउनुहुन्छ। अरु विषय गौण हुन्।’

तर ताप्के तातिसकेको छ। यो तात्नुको नेपथ्यको कारण पनि छ।

केन्द्रीय समितिको एउटा बैठकमा प्रधानमन्त्री पनि रहेका ओलीले भनेका थिए,‘अब २० बर्षसम्म कसैले पनि अध्यक्षको कुर्सी नताके हुन्छ।’

यसले ओलीको शासकीय निरङ्कुशताको झल्को दिएपछि धेरै नेता झस्किएका थिए। त्यस मध्यका एक हुन्, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल। ओलीको यो भाषणले एमाले उनको निजी कम्पनी जस्तो भएको प्रतीत गराएको टिप्पणी एकआपसमा हुन थाले, सुस्तरी।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ओलीको पक्षमा खुट्टा टेकेकाहरुको जमिन खस्किने त्रास ओलीको भाषणले दिएको थियो। तर ओलीको विकल्प के त? भन्ने प्रश्न पनि जीवित थिएन।

जब नेकपा एमालेमा पूर्वराष्ट्रपति भण्डारीले सक्रिय हुने इच्छा देखाइन् ओलीको विकल्पको त्यान्द्रो पनि फेला परेको थियो। अब, त्यो विरुवाले राजनीतिक रुपमा प्रतिस्पर्धाको बलियो आधार पाइसकेको छ।

एमालेको अहिलेको बहस त्यहि हो। र यो बहसको नेपथ्यमा भण्डारीको मियोँ बनेर उभिएका छन्, बरिष्ठ उपाध्यक्ष पोखरेल।

नेताहरू आत्तिएका छन्। खासगरी ओली पक्षका नेता झनै तर्सिएका छन्। त्यहाँमाथि ईश्वर पोखरेलको साथले भण्डारीको समूह दरिलो बनेको प्रतीत हुन्छ। यसका तीन–चार उदाहरण पनि छन्– ईश्वर जहाँ उभियो, त्यहि बिजय।

यसका निम्ति मदन भण्डारीलाई दिएको साथ, माधवकुमार नेपालसँग उभिएको समय एउटा हो भने पछिल्लो समय एमालेको आठौं, नवौं र दसौंं महाधिवेशनलाई हेर्न आवश्यक हुन्छ। पोखरेल आठौं महाधिवेशनमा झलनाथ खनालका पक्षमा उभिए। खनाल प्यानलमा महासचिवको उम्मेदवार पनि बनेका थिए।

ओली र माधव नेपालजस्ता मूर्धन्य नेताको समीकरण बनेको थियो। तर, खनालले महाधिवेशनमा जित निकालेका थिए।

नवौ महाधिवेशनमा खनालसहितका नेता माधवकुमार नेपालको पक्षमा उभिए। तर, जीवन मरणको दोसाँधमा रहेका ओलीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने मान्यताका आधारमा ईश्वरले कित्ताकाट गरे। उनी ओलीको पक्षमा खुलेर महासचिवका उम्मेदवार बने। ओलीको जित भयो।

नेकपा विभाजनपछि एमालेको जीवनसँग उभिए ईश्वर। विभाजनको धक्कालाई पुनर्जीवित गर्नुपर्छ भनी उनी ओलीको पक्षमा नै उभिए। खासमा उनी एमालेको पक्षमा उभिएका थिए। उनी बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदा भिम रावललाई पराजित गरी ओली अध्यक्षमा पुनः निर्वाचित भए।

अब ११औं महाधिवेशनको रेखा कोरिएको छ। भदौ २० देखि २२ सम्म विधान महाधिवेशनको घोषणा भएको छ। यस पटक ईश्वर पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन्।

विधान महाधिवेशनमा दुई कार्यकालपछि अवकास र ७० बर्षको सीमा बाँधिनुपर्ने पक्षमा छन् ईश्वर, भलै उनी पनि उक्त उमेरसीमाभित्र पर्ने छैनन्। यसको अर्थ हो, उनी भण्डारीलाई अब अध्यक्ष बनाउने लयमा छन्। यस पटक भण्डारीको बिजय होला कि नहोला? यो हेर्न बाँकी छ।

तर एक हिसाबले एमालेभित्र दुई धारीय राजनीति किन पनि सक्रिय छ भने स्पेन पुगेर ओलीले चर्चा गरेका छन्। उनले भनेका थिए,‘विद्या भण्डारीको चर्चा ल्याएर एमालेमा केहीले बिगारको खेल खेल्न सुरु गरेका छन्।’

तर यो खेलको स्ट्राइकर भने ओली आफैं थिए। उनको एकल शासन कालान्तरसम्म जाने भन्ने संकेतलाई कसैले पनि नरुचाएका कारणले दुई कार्यकाल र ७० बर्षको उमेरसीमाको विषय अब विधान सम्मेलनमा उठ्ने र कायम गराउने भन्ने पक्षको मत बलियो बन्न थालेको छ।