बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालमा वायु प्रदूषणको कारण भारतबाट आउने प्रदूषित कण

बिहिबार, जेष्ठ २३ २०७६

काठमाडौं जेठ, २३–
भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इटाभट्टी र पन्जाब तथा राजस्थानमा अन्नबाली भित्र्याएपछि जलाइने डाँठ–खोस्टाको धुवाँका कारण नेपालको वायु प्रदूषण वृद्धि हुने गरेको अध्ययनले देखाएको हो ।

त्रिभुवन विश्वविद्यालय वातावरण विभागकी प्राध्यापक रेजिना मास्केका अनुसार सीमा क्षेत्रका सहरसँगै काठमाडौंसम्म नै भारतको प्रदूषित कणले प्रभाव पारेको छ । प्रदूषित वायुले हिमालसम्म नै असर पार्ने गरेको उनले दाबी गरिन् ।

‘हिउँद र सुख्खा याममा नेपालगन्ज, लुम्बिनी र सौराहामा काठमाडौंमा भन्दा बढी प्रदूषण देखिन्छ,’ उनले भनिन्, ‘यसको असर हिमालमा समेत प्रत्यक्ष पर्ने गरेको हाम्रो अध्ययनले देखाएको छ ।’

प्राध्यापक मास्केले तराईमा रहेका कलकारखानासँगै सीमापारबाट आउने प्रदूषित कणले नेपालमा वायु प्रदूषण हुने गरेकाले त्यसतर्फ द्विपक्षीय छलफल गरी समाधान गर्नुपर्ने सुझाव दिएकी छन् । पुसदेखि असारसम्म प्रदूषणको मात्रा अत्यधिक हुने गरेको उनको भनाइ छ ।

नेपालको वायुको गुणस्तरको राष्ट्रिय मापदण्ड पीएम २.५ छ । रौंभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्दछ ।

सरकारले वायुको गुणस्तर मापन गर्न काठमाडौंको रत्नपार्कमा राखेको यन्त्रमा वर्षमा केही दिन प्रदूषणको स्तर १३६ माइक्रोग्रामसम्म पुगेको पाइएको छ । हिउँदमा दिल्लीमा हुने प्रदूषणको असर पश्चिमी वायुसँगै नेपालसम्म आइपुग्ने गरेको विज्ञहरू औंल्याउँछन् ।