बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओलीले सिंहदरबारमा रोपे एभोकाडोको विरुवा

बुधबार, जेष्ठ २२ २०७६

काठमाडौं जेठ, २२–
विश्व वातावरण दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले  सिंहदरबारमा एभोकाडोको विरुवा रोपेका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा  रोपेर प्रधानमन्त्री ओलीले  फलफूलको विरुवा रोपण अभियानको सुरुवात गरेका हुन् । 

उक्त अवसरमा  प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका हुन् । 

‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारी लगायतको उपस्थिति थियो । गृहमन्त्री राम बहादुर थापा , खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादव लगायतले पनि फुलफुलका विरुवा रोपेका थिए । 

सरकारले आगामी बर्षलाई वृक्षरोपण बर्षको रुपमा मनाउने घोषणा गरेको छ । त्यसैगरी कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका विरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो ।

उक्त कार्यक्रममा लम्जुङ, रोल्पा, पर्वत, उदयपूर र कास्कीमा सबै भन्दा बढी विरुवा रोपिएको जानकारी कार्यक्रममा गराईएको थियो ।