बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लवको तालिम केन्द्र खोज्न ८० प्रहरीको विशेष सर्च अभियान

बुधबार, जेष्ठ २२ २०७६

सोलुखुम्बू जेठ, २२–
सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन ।

आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न नसकेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला आइतबार छेस्कामको चौकीनजिक हतियारधारी समूह आएको सूचना पाएपछि प्रहरीले चौकी छाडेका थिए । यसैका आधारमा विप्लवले चौकी कब्जा र आक्रमण गरेको हल्ला फैलिएपछि देशभरि तरंग ल्याएको थियो ।

विप्लवको गतिविधि बढेको सूचनाका आधारमा गस्ती र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सोलुखुम्बूका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले छेस्काममा हल्ला मात्र चलाइएको बताए ।

उनले टेलिफोनमा भने, ‘छेस्काममा केही भएको थिएन, गुँदेलमा छ भनिएको तालिम केन्द्र खोजी भइरहेको छ, फेला पार्नासाथ जानकारी दिन्छौं ।’ विप्लवको गतिविधि बढेको र तालिम केन्द्र नै छ भन्ने सूचनाका आधारमा खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको उनको भनाइ छ ।

सोलुखुम्बूको महाकुलुङ केन्द्रित गरी प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरेर तालिम केन्द्र र विप्लवका कार्यकर्ता खोजी भइरहेको छ । सशस्त्र प्रहरीको प्रदेश १ गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेतृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० सहित ८० प्रहरीको विशेष टोली सर्च अभियानमा छ ।

गुँदेलमा बिजुली र टेलिफोन अझै सुचारु हुन नसक्दा सूचना प्रवाहमा समस्या छ । ओखलढुंगाबाट समेत प्रहरी खटाइएको छ । बाहिरबाट आएको र जिल्लाभित्रकै सुरक्षाकर्मीको टोलीले सर्च अभियान सुरु गरेर विप्लव समूहका कार्यकर्ताको खोजी तीव्र पारेका छन् ।

सोलुखुम्बूका सीडीओ राना मगरका अनुसार एक जना पनि विप्लव कार्यकर्ता र हतियारधारी भनिएका कोही पनि पक्राउ परेका छैनन् । जिल्ला शान्त रहेको पनि उनले दाबी गरे । सोलुखुम्बूको सदरमुकामभन्दा निकै टाढा रहेका छेस्काम र गुँदेल संखुवासभा र भोजपुरसँग सिमाना जोडिएका गाउँ हुन् । यस क्षेत्रमा विप्लवका उच्च तहका नेता आएको अनुमान प्रहरीले गरेको छ ।

चौकी आक्रमणको हल्ला नसुनुन्जेल छेस्काम र गुँदेलका स्थानीय ढुक्कसँग बसेका थिए । समाचार आएपछि महाकुलुङ अशान्त भएको गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए । उनले टेलिफोनमा भने, ‘बाहिर मात्रै हल्ला छ, महाकुलुङ शान्त छ, छेस्कामका स्थानीय ढुक्कसँग दैनिकी चलाइरहेका छन् ।’ मिडियाले देशैभरि छेस्काम र गुँदेलबारे अफवाह फैलाएकाले मनोवैज्ञानिक त्रास बढेको किराँतीले बताए ।

उनले दिएको जानकारी अनुसार गुँदेलमा विप्लव कार्यकर्ताको आवतजावत् बाक्लिएको सूचना आएको र प्रहरीले खोजी गरेको भए पनि छेस्कामबारे हल्ला मात्र चलाइएको हो । स्थानीयले बाहिर आएका हल्ला झुटो भएको बताएको उनको भनाइ छ । गुँदेलकी तारा राईका अनुसार अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ । अन्य कुनै घटना भएको छैन ।

हल्लाले स्थानीयमा त्रास फैलिएकाले यस्ता हल्लाको पछि नलाग्न अध्यक्ष किराँतीले आग्रह गरे । उनले सरकार र विप्लव जिम्मेवार हुनुपर्ने सुझाव दिए । गाउँपालिका अहिले शान्त रहेकाले निर्धक्क आफ्नो दैनिक काम गर्न गाउँवासीसँग उनले आग्रह गरे ।