काठमाडौं जेठ, २१–
भोलि जेठ २२ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंगलबार साँभल गृह मन्त्रालयले साँझ सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले जारी गरेको सूचनामा भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै ईदमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका थिए।
गत वर्ष सरकारले बिदा कटौती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाको माग गर्दै आएका थिए। सरकारले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको हो।
ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए।
