बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बढ्दो दुर्घटना घटाउन उपत्यकाका सवारीसाधनको गति निर्धारण

मंगलबार, जेष्ठ २१ २०७६

काठमाडौं जेठ, २१–
 बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–कलंकी र कोटेश्वर–सूर्यविनायक सडकखण्डमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ । महाशाखाले यसका लागि तीनवटा ‘लेजर गन’ ल्याइसकेको छ ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले एक सातापछि तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही हुने जानकारी दिए ।

‘लेजर स्पिड गन’ नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसअघि प्रयोग भएको राडर स्पिड गन हो,’ उनले भने, ‘लेजर स्पिड राडारभन्दा अत्याधुनिक छ । यसले सवारीसाधनको गति मापन गर्नेछ । कति दूरीबाट सवारीसाधन गुडेको भन्ने विवरण पनि यसले दिनेछ ।’

ट्राफिक महाशाखाले कोटेश्वर–कलंकी सडक र कोटेश्वर–सूर्यविनायक सडकमा सवारीसाधनको गति पनि तोकेको छ । महाशाखाका अनुसार अबदेखि यी सडकखण्डमा प्रतिघन्टा ५० किमिका दरले मात्रै सवारीसाधन हाँक्न पाइनेछ ।

सर्भिस ट्र्याकमा भने प्रतिघन्टा २० किमिका दरले हाँक्नु पर्नेछ । तोकिएभन्दा धेरै गतिमा हाँकिएका सवारीसाधनलाई लेजर स्पिड गनका आधारमा नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिनेछ ।

‘कोटेश्वर–कलंकी सडक र कोटेश्वर–सूर्यविनायक सडकमा सवारीसाधनको गति ५० किमि प्रतिघन्टा तोकिएको छ । निर्धारितभन्दा तीव्र गतिमा हाँकिएका सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरिनेछ,’ महाशाखा प्रमुख एसएसपी पन्तले भने । महाशाखाका अनुसार लेजर स्पिड गनबाट सवारीसाधनको गति नाप्ने कार्य सोमबारबाटै सुरु भएको छ ।

तर, कारबाही प्रक्रिया भने एक सातापछि मात्रै सुरु हुनेछ । प्रयोग गर्न लागिएको प्रविधि नौलो भएकाले यसबीचमा सर्वसाधारणलाई सुसूचित गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

‘यो प्रविधि सबैका लागि नौलो हो । पहिलो चरणमा जनचेतना जगाउन आवश्यक छ । सात दिनभित्र हामी यो काम सक्नेछौँ । त्यसलगत्तै नियम उल्लंघन गर्नेमाथि कारबाही थाल्नेछौँ,’ उनले भने ।