बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसदमा गुठी विधेयक रोक्न माग

सोमबार, जेष्ठ २० २०७६

काठमाडौं जेठ, २०–
 गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्ने गुठी विधेयक तत्काल स्थगन गर्न माग गरिएको छ। सम्पदाविद्, संस्कृतिविद्, शिक्षाविद्लगायत गुठीसँग सरोकार राख्नेले तत्काल विधेयक स्थगत गर्न माग गरेका छन्। उनीहरूले विधेयकका धेरै प्रावधान सम्पदा, संस्कृति नास गर्ने किसिमका भएको आरोप लगाएका छन्।

‘यो विधेयक पास भयो भने सम्पदाको विनास गर्छ’, सम्पदाविद् डा। गोविन्द टण्डनले भने, ‘सरकारले गुठीको मर्म नै नबुझि विधेयक आएको छ, यसलाई तत्काल स्थगन गर्नु पर्छ।’

विधेयकले मठमन्दिर स्थापनामा बन्देज लगाउन सक्ने प्रावधानसमेत राखेको उनले बताए। विधेयकले मूर्त अमूर्त रूपमा गुठीको जग्गा संरक्षण होइन नास गर्ने देखिएको उनको भनाइ थियो।

सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीसम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गराएकी छन्।

राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सर्वसाधारणको हित कायम गर्न तथा गुठीको जग्गा संरक्षण, उपयोग र व्यवस्थापन गर्नुका साथ गुठी विकास, सञ्चालन र व्यवस्थापन गर्न आवश्यक व्यवस्था गर्न भन्दै उनले विधेयक संसद्मा दर्ता गराएकी हुन्।